अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीवार पनि हुन सकेन । साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते उक्त कम्पनीले धितोपत्रको दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो । आईपीओको पहिलो कारोबार प्रि– ओपनिङ सेसन मार्फत हुने व्यवस्था छ । प्रि– ओपनिङ सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था बमोजिम उक्त कम्पनीको शेयर कारोबार हुन नसकेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि रू.८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेकोमा सोहि सीमाभित्र रहेर प्रि–ओपनिङ सेसनमा खरीद आदेश प्राप्त भएपनि विक्री आदेश नहुँदा बिहीवार पनि कारोबार हुन नसकेको नेप्सेले बताएको छ । उक्त कम्पनीले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराइसकेको छ ।
नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो ।

Online Arthik










