बैंकरहरुले ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति बैंकहरुले खारेज गरेका हुन् ।

बुधबार संघमा बसेको २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंकका प्रतिनिधिको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छोड्ने गरी सहमति भएको संघका सीइओ अनिल शर्माले बताए ।

यसअघि निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर धेरै पुग्ने अनुमानमा संघले ब्याजदरमा भद्र सहमति गरेको थियो ।

अब बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्दा निक्षेपकर्तालाई आफूखुसी ब्याजदर तोक्न पाउनेछन् ।

राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले हरेक ३/३ महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्न पाउँछन् । अधिकांश बैंकहरुले चैत मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । जसअनुसार अब साउन १ गतेबाट बैंकहरुले बजारको मागलाई ध्यानमा राखेर नयाँ ब्याजदर सार्वजनिक गर्नेछन् ।

तपाईको प्रतिक्रिया