एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । आइतबार यी दुई संस्थाले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । स्वदेशी लघुवित्त हाल सुनसरीको इटहरी ९ मा केन्द्रीय कार्यालय रही विभिन्न जिल्लामा सेवा दिइरहेको लघुवित्त संस्था हो भने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेड जाजरकोट जिल्लाको भेरी नगरपालिका वडानमबर ४ मा मुख्य कार्यालय रही विभिन्न जिल्लामा कार्यरत लघुवित्त संस्था हो ।

राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि हकप्रद जारी गर्न रोक लगाउँदै मर्जरको नीति लिएको छ । यही नीतिअनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने समझदारी गरिरहेका छन् । यही क्रममा एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच पनि मर्जर सम्झौता भएको हो ।

स्वदेशी लघुवित्त प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईका अनुसार एनआइसी एशिया लघुवित्तसँग मर्जरको प्रारम्भिक समझदारीपत्रमा आइतबार नै दुवै संस्थाका संचालक समितिका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने संस्था अझै सवल हुने दाबी उनले गरेका छन् ।

दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा नभएसम्मका लागि दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिन भन्दै आइतबार नै नेप्सेलाई पत्र पठाएको छ।

तपाईको प्रतिक्रिया