उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद भएपछि राष्ट्रिय वाणिज्य बैंकको बुधबारको बोर्ड बैठक स्थगित भएको छ । तर, कुनै विवाद वा विरोधका कारण बैठक स्थगित नभएको बैंक प्रशासनको दाबी छ ।  अर्थ मन्त्रालयले कोइरालालाई बैंकको अध्यक्ष बनाउने गरी सोमबार वाणिज्य बैंकको सञ्चालकमा नियुक्ति गरेको थियो । तर, उनको नियुुक्तिसँगै उनलाई अध्यक्ष बनाउने विषय विवादित बनेपछि बुधबारका लागि तय गरिएको बोर्ड बैठक अर्को मितिसमेत नतोकी स्थगित भएको एक सञ्चालकले बताए ।

नवनियुक्त सञ्चालक प्राडा कोइरालालाई अध्यक्षमा मनोनयन गर्ने गरी बुधबारका लागि बैठक डाकिएको थियो,’ उनले भने, ‘तर, नियुक्ति र उहाँलाई अध्यक्ष बनाउने विषय अलि विवादित भएपछि बैठक स्थगित गरियो ।’ कोइरालालाई उपप्रधानमन्त्री पोखरेलकै दबाबमा वाणिज्य बैंकको अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्ति गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ । तर, उनलाई अध्यक्ष बनाउने गरी बैंक सञ्चालकमा नियुक्ति गरिएकोमा चौतर्फी विरोध भएको छ । विरोध मत्थर पार्ने प्रयासस्वरूप अचानक बोर्ड बैठक स्थगन भएको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

‘सञ्चालकमा गरिएको नियुक्ति नै विवादित भएपछि तत्कालका लागि बोर्ड बैठक स्थगित गरिएको हो,’ एक सञ्चालकले भने, ‘एक–दुई दिन होल्ड गरेर बोर्ड बैठक बस्ने र उहाँ (कोइराला)लाई नै अध्यक्ष बनाउने कुरा छ । त्यसैले अर्को मितिसमेत तय नगरी बोर्ड बैठक स्थगित गरिएको छ ।’

तर, वाणिज्य बैंकका कम्पनी सचिव भोला पौडेलले बुधबार तय गरिएको बैठक कोरम नपुगेका कारण बस्न नसकेको बताए । ‘दुईजना सञ्चालकज्यूले जरुरी परेका कारण बैठकमा उपस्थित हुन नसक्ने बताउनुभयो,’ उनले भने, ‘त्यसैले कोरम नपुग्ने भएपछि बैठक स्थगित भएको हो ।’ स्थगित बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको उनले बताए । उनले भने, ‘बैठक भोलि (बिहीबार) बस्ने सम्भावना पनि छ, तर निश्चित भइसकेको छैन ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण ‘भर्चुअल’ बैठक बस्ने भनिए पनि केही सञ्चालकको व्यस्तताका कारण बस्न नसकेको बताए । ‘बुधबार भर्चुअल बैठक बस्ने सहमति भएको थियो । त्यहीअनुसार समय पनि तोकिएको थियो,’ उनले भने, ‘तर, केही सञ्चालक अर्कै भर्चुअल बैठकमा बस्नुपर्ने भएका कारण बैंकको बैठक स्थगित भयो ।’ अर्को बैठकको मिति र समय अझै टुंगो नलागेको, तर बिहीबार बोर्ड बैठक बस्न सक्ने उनले बताए ।

कोइरालाले सत्ताकै बलमा निरन्तर नियुक्ति पाउँदै आएका थिए । पदमा हुँदा अनियमितता गरेको भन्दै उनलाई बैंक सञ्चालकमा गरिएको नियुक्ति विवादित बनेको छ । कोइरालाले यसअघि मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति, नेपाल आयल निगमको महाप्रबन्धक, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, नेपाल खाद्य संस्थानको महाप्रबन्धक, त्रिभुवन विश्वविद्यालय छापाखाना सञ्चालक समितिको अध्यक्ष, महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्रमुखको नियुक्ति खाइसकेका छन् ।

आजको नयाँ पत्रिकाको अनलाइन संस्करणबाट साभार गरिएको

तपाईको प्रतिक्रिया