कोरोना संक्रमित बढेसँगै मकवानपुरमा निषेधाज्ञा जारीपछि बन्द गरिएको हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । जिल्ला प्रशासनको अनुमतिमा निषेधाज्ञा जारी रहेकै अवस्थामा शनिबारदेखि उद्योग सञ्चालनमा आएको हो ।

निषेधाज्ञाका कारण उद्योग तीन हप्तादेखि बन्द थियो । सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थ र जनशक्तिको अभाव नभए पनि हाल उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुने महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । उनका अनुसार जिल्लामा कोरोना महामारीमा कमी नआएसम्म आंशिक सञ्चालन अर्थात् प्रतिदिन ९ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी काम गर्ने उद्योगको योजना छ । देशका ठूला सहरहरूमा निषेधाज्ञा जारी रहेको र निर्माणसम्बन्धी कामसमेत प्रायः ठप्प भएको अवस्थामा सिमेन्ट बिक्रीमा गिरावट आएका कारण उत्पादन घटाइएको महाप्रबन्धक सिंहले बताए ।

सिमेन्ट उत्पादनका लागि क्लिंकर बनाउने वस्तु कोइलाको मात्रा कम भएकाले आगामी दिनमा अभाव हुन नदिन टेन्डर आह्वान गरिएको उनले जानकारी दिए । लकडाउनको अवधिमा उद्योग बन्द भए पनि हेटौँडा सिमेन्टले आव ०७६/७७ मा उत्पादन गरिएका ४ लाख बोरा सिमेन्ट बिक्री गरिरहेको छ ।

०७६ वैशाखदेखि करिब ११ महिना अवधिमा मेसिनमा खराबीका कारण उद्योग पटक–पटक बन्द गरिएको थियो । जसका कारण लक्ष्यअनुरूप सिमेन्ट उत्पादन नहुँदा उद्योग घाटामा गएको महाप्रबन्धक सिंहले स्वीकार गरे । मेसिन धेरै पुरानो भएको र नयाँ प्रविधि भिœयाउन नसक्दा निजी क्षेत्रका उद्योगको तुलनामा उत्पादन गर्न नसकिएको उनको गुनासो छ ।

नयाँपत्रिका दैनिकको अनलाईन संस्करणबाट साभार गरिएको

तपाईको प्रतिक्रिया