मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार भने सम्हालिएको हो । पछिल्ला दिनहरुमा बढेको बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा सूचक केही कमजोर देखिएको विश्लेषणहरु भएका थिए । तथापि, यही बेला बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको संख्या पनि उत्तिकै हावी छ । खरिदबिक्री क्रम उत्साहप्रद छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण सेयर बजारमा समग्रमा सकारात्मक बनेको छ । ब्याजदर सस्तो भएकाले पनि बजारले अग्रगाामी गति तय गर्न सकेको हो । तर, सेयर बजारले सधैं एउटै गति तय गर्दैन । तलमाथि गर्दै अघि बढ्ने यसको प्रवृत्ति रहन्छ । सेयर बजार बिस्तारै बुलिस चक्रमा प्रवेश गरेको विश्लेषणहरु समेत हुन थालेको छ । हाम्रो सेयर बजारको इतिहासलाई हेर्ने हो भने यो जहिले पनि चक्रीय प्रणालीमै हिँड्ने गरेको देखिन्छ ।

करिब ३ वर्षको वियरिस र ४–५ वर्षको बुलिस चक्रमा बजार हिँड्ने गरेको छ । यसलाई विश्वास गर्ने हो भने अब बुलिस चक्र सुरु भएको छ । तर यसको अर्थ बजार सधैं बढ्छ भन्ने होइन । बजारले तलमाथि गर्दै औसत गति माथितिरको बनाउने हो । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । लगानीकर्ताहरु बजारप्रति सकारात्मक हुन आवश्यक छ । लगानी गर्ने कम्पनीको समग्र वित्तीय सूचकहरुमा ध्यान दिनुपर्छ । यसैगरी, बजारमा धैर्यता पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।

नेप्से सूचक बुधबार ९.३७ अंकले बढेर १५५५.५२२ विन्दुमा आइपुगेको छ । १९४ कम्पनीको १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर खरिदबिक्री भएका छन् । यसदिन होटेल बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूहको सूचक सबैभन्दा बढी ९४.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि १.८७ अंकले सुधार भएको छ ।

यस दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको भाउ सबैभन्दा धेरै ९.७६% ले बढेको छ । सबैभन्दा धेरै गोर्खा फाइनान्सका लगानीकर्ताले ३.५७% ले गुमाएका छन् । खरिदबिक्री रकममा शिखर इन्सुरेन्स अग्रस्थानमा छ । यसको १० करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल बैंक र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

तपाईको प्रतिक्रिया