जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन आज बुधबार (असोज १४ गते) अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार मंगलबार अपराह्न ५ बजेसम्म यो आर्इपीओ खरिदका लागि  ६ लाख ८२ हजार ७१९ जनाले आवेदन दिएका छन् । उनीहरुले १ करोड ९१ लाख ८६ हजार ३२०  कित्ताका लागि आवेदन दिएका हुन् ।

यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा ६ लाख १४ हजार आवेदन परेकोमा आज जनरल इन्स्योरेन्सले सर्वाधिक आर्इपीओ आवेदनमा रेकर्ड ब्रेक गरेको हा ।

यो कम्पनीको आइपीओमा हिजो दोस्रो दिन १ करोड  ४७ लाख १५ हजार भन्दा बढी कित्ता खरीदका लागि आवेदन परेको थियो। दोस्रो दिन कुल ५ लाख १७ हजार भन्दा बढीको अचाक्ली आवेदन परेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ।

यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।

तपाईको प्रतिक्रिया