नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा प्रधानको प्यानलले सोमबार उम्मेदवारी दर्ता गराएको हो ।

आगामी मंसिर ११ र १२ मा महासंघको वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदै छ । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठसहितले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएपछि प्रधानले महासंघमा २८ वर्ष योगदान गरेको स्मरण गर्दै महासंघलाई उद्योगीमैत्री बनाउन आफू र आफ्नो नेतृत्व दृढ भएर लाग्ने प्रतिबद्धता जनाए । साना, मझौला र ठूला व्यवसायीको साझा संस्थाका रूपमा महासंघलाई स्थापित गर्ने उनको दाबी छ । उम्मेदवारी दर्तासँगै प्रधानले कोभिड–१९ बाट प्रभावित मुलुकको अर्थतन्त्र उकास्न आफूहरू केन्द्रित हुने प्रतिक्रिया दिए ।

महासंघको रूपान्तरणका लागि प्रधानलाई आफूले समर्थन गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । प्रधानसहितको टिमले आफ्नो एजेन्डालाई सहयोग पुर्‍याउने भएकै कारण उक्त समूहसँग आशावादी रहेको उनको भनाइ छ । कोरोनाका कारण रोजगारी गुमाएकालाई नेपालमै रोजगारीको सम्भावना खोल्न निजी क्षेत्र लागिपर्ने प्रतिबद्धता जनाउँदै आफूहरू नेपाल र नेपालीको समृद्धि तथा सुखका लागि लाग्ने उनले बताए । प्रधानको मनोनयन दर्ता कार्यक्रममा पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको उपस्थिति थियो । प्रधानलाई अध्यक्ष भवानी राणा, प्रदीपकुमार श्रेष्ठ, ज्ञानेन्द्रलाल श्रेष्ठलगायत पूर्वअध्यक्षको समर्थन छ ।

यसअघि कात्तिक ५ मा महासंघको वरिष्ठ उपाध्यक्ष पदकै लागि उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराइसकेका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दाखिला सूचना प्रकाशित भएको मितिबाट मंसिर ४ गते साँझ ५ बजेसम्म गर्न पाइनेछ । त्यस्तै मतदान गर्न पाउने सदस्यको पहिलो नामावली मंसिर २ मा प्रकाशित गरिने महासंघले जनाएको छ । मतदान गर्न पाउने सदस्यको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ को बिहान ११ देखि साँझ ५ सम्म कायम गरिएको छ ।

निर्वाचन कार्यक्रम निर्वाचन समितिले तोकेका स्थान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङ्केट, बबरमहल र महासंघ कार्यालय टेकुमा छुट्टाछुट्टै रूपमा हुनेछ । गृह मन्त्रालयको स्वीकृति एवं स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ । सभाको उद्घाटन ११ गते भर्चुअल माध्यमबाट गरिने महासंघले जनाएको छ ।

कान्तिपुर दैनिकबाट साभार गरिएको

तपाईको प्रतिक्रिया