चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७४.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड २४ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा ३ करोड १ लाख रुपैयाँ रहेको थियो। संस्थाले खुद ब्याज आम्दानी बापत ९ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ७ करोड ६० लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको जगेडा कोष (रिजर्भ) ३२.६८ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको जगेडा कोषको आकार २० करोड ३२ लाख रुपैयाँको थियो।

२७ करोड ६० लाख रुपैयाँको चुक्तापुँजी बनाएको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४८.४० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १४९.५७ रुपैयाँ रहेको संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.५३ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया