एमएबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा डबल खुद नाफा कमाएको छ।

लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १०४.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ५२ लाख खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र फि, कसिशन तथा डिस्काउण्ट आए बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख ४६ हजार रुपैयाँबाट बढेर ७ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २ करोड ३७ लाख ९५ हजार रुपैयाँबाट बढेर ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २३ लाख रुप्ैयाँ फि, कमिशन तथा डिस्काउण्ट आम्दानी गरेको छ।

गत आवको असोज मसान्तसम्ममा १६ करोड २० लाख रुपैयाँ रहेको यस लघुवित्तको चुक्ता पूँजी चालु आवको सोही अवधिसम्ममा बढेर ४५ करोड ३६ लाख १८ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोष १६ करोड २६ लाख ४१ हजार रुपैयाँबाट बढेर ३० करोड ३२ लाख ५६ हजार रुपैयाँ पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ निक्षेप र २ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ सापटीबाट कुल ४ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात २८.७१ गुणा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको निष्क्रिय कर्जा २.१० प्रतिशत र कष्ट अफ फण्ड ६.२२ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया