माउण्टेन इनर्जी नेपाल लिमिटेडले कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर विक्री खुला गरेको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ भने बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
यस साधारण शेयर खरिद गर्नको लागि सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको छ ।
आयोजनाले नुवाकोट जिल्लाको सुन्दरादेवी स्थित तादी खोला (थप्रेक) जलविद्युत आयोजनाबाट ५ मेगावाट र म्याग्दी जिल्लाको नारच्याङ्ग स्थित मिस्ट्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट गरी जम्मा ४७ मेगावाट जलविद्युत उत्पादन गर्ने बताइएको छ ।
आयोजनामा नेपालका प्रतिष्ठित व्यवसायीहरुद्धारा लगानी रहेको छ भने सञ्चालकहरुमा क्रमशः सुहृद राज घिमिरे, डोलराज शर्मा, चन्द्र प्रसाद ढकाल, श्याम सुन्दर खेतान र मनोहरदास मुल रहनु भएको छ ।
नेपालको जलविद्युत आयोजना मध्ये कम लागतमा बन्ने यस आयोजनामा प्रतिमेगावाट करिब १३ करोड ९७ लाख लागत परेको छ । कम्पनीको प्रकाशित विवरणपत्र अनुसार यसै आ.ब.देखि नै ४९ करोड ३६ लाख भन्दा बढी नाफा हुने प्रक्षेपण गरेको छ ।
साधारण शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।

तपाईको प्रतिक्रिया