धितोपत्र कारोबार मापक नेप्से परिसूचकले आज बुधबार दोहोरो अंकको उछालका साथ १७ सयको विन्दु पार गरेको छ। आज नेप्से परिसूचक २८.८९ अंकको वृद्धिका साथ १७०७.६७ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२३ अंकको बढोत्तरीका साथ ३३५.६२ को उचाइमा पुगेको छ।

नेप्सेले १७ सयको विन्दु पार गर्दा कारोबार रकम  ४ अर्ब रुपैयाँ  सम्पन्न भएको छ।

यतिबेला सेयर बजारमा हरियाली छाउनुमा अनलाइन कारोबार प्रणालीको व्यापक पहुँच, न्यून ब्याजदर र लगानीकर्ताको बलियो मनोबल नै प्रमुख कारणहरु रहेको बताइन्छ। बजार बढ्ने बलियो मानसिकता र सूचीकृत कम्पनीहरुका प्रथम त्रैमासको रिपोर्टले समेत सेयर कारोबार निरन्तर बढाइरहेको विश्लेषकहरु बताउँछन्।

पछिल्लो समय लगानीकर्ताले महँगा सेयरमूल्य भएका कम्पनीमा आकर्षण बढाइरहेका बेला एसटीसी, एनटीसी, सीआईटी, बीबीसी, एचडीएल, नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य निरन्तर उच्च मूल्यमा उकालो लागिरहेका छन्। बजार पूँजीकरण र सूचकमा समेत प्रभाव पार्न सक्ने एनटीसी, सीआईटीलगायतका सेयरमूल्यमा उछाल आएपछि यसको सकारात्मक प्रभाव बजार पूँजीकरण र सूचकको उल्लेख्य वृद्धिमा पर्न सकेको हो।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३३९.३२ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २००.२१ अंकले वृद्धि भएको आज बैंकिङ समूह १४.८८ अंक, व्यापार समूह १४९.८३ अंक, होटेल्स् समूह ४७.३५ अंक, विकास बैंक, २.९२ अंक, जलविद्युत् समूह ४.३९ अंक, अन्य समूह ४९.६८ अंक, लघुवित्त समूह ७.१४ अंक, जीवन बीमा समूह ७.०३ अंक र म्युचुअल फन्ड समूह ०.५५ अंकले बढेका छन्।

आज वित्त समूहमा २.८६ अंकको गिरावट आएको छ।

तपाईको प्रतिक्रिया