स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपनि राइट ब्याकको कारण खुद नाफामा सुधार देखिएको हो। यस अवधिमा लघुवित्तले १९ करोड ६७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

कोरोनाको असरका कारण आम्दानीको लक्ष्य पुरा गर्न नसकेको लघुवित्तले जनाएको छ। केन्द्रिय बैंकले भने अनुसारको ब्याजदर कायम गर्दा उसको ब्याज आम्दानी घटेको विवरणमा उल्लेख छ।

यस अवधिमा लघुवित्तको सञ्चालन आम्दानी पनि घटेको छ। गत वर्षको पहिलो त्रेमासमा २ करोड ४८ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको लघुवित्तले यस वर्ष १ करोड ५३ लाख अन्य सञ्चालन आम्दानी गरेको छ। यस अवधिमा लघुवित्त १४ करोड ४१ लाख रुपैयाँले सञ्चालन घाटामा रहेको छ।

चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ९१ लाख रुपैयाँ  छ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

लघुवित्तको खराब कर्जा ह्वातै बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा ४.७६ प्रतिशत पुगेको छ। यसै कारण गत वर्ष सम्भावित जाेखिम बापत १ कराेड छुट्याएकाे लघुवित्तले यस वर्ष १६ कराेड छुट्याएकाे छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात २२.२४ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया