कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २२ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।  चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा २२.९६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा २२ लाख ९६ हजार रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो। पहिलो त्रैमासमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै ३० करोड रुपैयाँले कम हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी ६ करोड ९८ लाख रुपैयाँबाट बढेर २२ करोड १८ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ६१ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्षकाे साेही अवधिसम्ममा यस्तो नाफा ८२ करोड ८० लाख थियो ।

बैंकको गत वर्षको तुलनामा सञ्चालन खर्च बढ्दा नाफा घटेको हो। बैंकको सञ्चालन खर्च १८ करोड ४४ लाख रुपैयाँबाट बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज २५ करोड ३ लाख रुपैयाँबाट बढेर ३१ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब ६३ करोड रुपैयाँबाट घटेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँमा झरेको छ भने कर्जा लगानी १ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँबाट बढेर १ खर्ब २३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ। बैंकको खराब कर्जा अनुपात ३.७० प्रतिशतबाट घटेर २.३७ प्रतिशतमा झरेको छ।

हाल १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १६ करोड रुपैयाँ छ।

विवरण अनुसार हाल बैंकको पूँजीकोष अनुपात २०.३३ प्रतिशत रहेको छ भने कोषको लागत ७.३४ प्रतिशत, आधार दर ८.५३ प्रतिशत, सिसिडि रेशियो ७२.४७ प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६६ पैसाबाट घटेर १५ रुपैयाँ ९० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात २७.७ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया