नवील बैंक लिमीटेडको पहिलो त्रैमासको वित्तीय विवरणमा कोरोना प्रभाव देखिएको छ । यो बैंकको खूद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ ।  बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खूद नाफा १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यसरी बैंकको खूद नाफा ७.८२ प्रतिशतले घटेको देखिएको छ ।

खूद नाफा घटे पनि समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १ अर्ब ६० करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष १ अर्ब ४८ करोडमा सीमित भएको छ भने १ अर्ब ९१ करोड रहेको खूद ब्याज आम्दानी पनि घटेर १ अर्ब ५७ करोडमा सीमित बनेको छ ।

बैंकको रिटेन अर्निंग भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ४ करोड रहेको यस्तो अर्निंग बढेर यो वर्ष ४ अर्ब २५ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष १२ अर्ब ६६ करोड १६ लाख रहेको रिजर्बको आकार घटेर १२ अर्ब ६१ करोड ९६ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष यही अवधिमा ४८.९३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष ४०.२६ रुपैयाँमा संकुचन भएको छ भने खराब कर्जाको अनुपात ०.६५ प्रतिशतमै स्थिर रहेको छ ।

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७३.४८ प्रतिशत रहेको छ, अघिल्लो वर्ष ७४.०९ प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया