महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । लघुविले नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर गरी एकीकृत कारोबार थाल्ने भएको हो ।

‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम एकीकृत कारोबार थाल्न नेपाल राष्ट्र बैंकले कम्पनीलाई कार्तिक १९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कार्तिक २४ गते अन्तिम स्वीकृती प्रदान गरेसँगै कम्पनीले आगामी सोमबारदेखि मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार थाल्न लागेको हो ।

दुबै लघुवित्तको कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो । मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

महुली लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको छैन । नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान रेसियोमा दुई लघुवित्तबीच मर्जर सम्पन्न भएको हो ।

नव किरण लघुवित्तको चुक्ता पूँजी ६ करोड ७६ लाख र अधिकृत पूँजी १० करोड रहेको रहेको छ । महुली लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १२ करोड २४ लाख रहेको छ । यी दुई कम्पनीले मर्ज भएपश्चात चुक्ता पूँजी १८ करोड ६६ लाख पुगेको छ ।

तपाईको प्रतिक्रिया