हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हाे ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
जलविद्युत,सौर्य उर्जा, होटल,रिसोर्ट,फनपार्क,केवलकार,शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

Online Arthik










