उत्पादनमुलक कम्पनीमा सूचीकृत भई बजारको बुलमा निकै चम्केका बोटलर्स नेपालका दुबै कम्पनीले आर्थिक वर्ष २०७६।७७ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

बजारमा प्रतिस्पर्धी अन्य कम्पनी नहुँदा सीमित शेयरसंख्या र शेयरधनी रहेका उक्त स्टक कारोबारीहरुले उच्च रुपमा बढाएर कारोबार गराएका थिए । तर दुबै कम्पनीले बिना लाभांश वार्षिक साधारण सभा डाकेका छन् ।

सञ्चालक समितिको कार्तिक २६ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार बोटलर्स नेपाल (तराई) ले पुस २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजुमा ३४ औं र बोटलर्स नेपाल (बालाजु) पुस २३ गते ४२ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बोटलर्स नेपाल (तराई)को दिउँसो २ बजे र र बोटलर्स नेपाल (बालाजु)को दिउँसो १ बजे सभा बोलाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण दुबै सभा भर्चुअल (एमएस टिम्स) माध्यमबाट सञ्चालन हुने जनाइएको छ । दुबै कम्पनीको साधारण सभामा आव २०७६।७७ को सञ्चालकको प्रतिवेदन पारित गर्ने, २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह सहितको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा राखिएको छ।

साधारण सभा प्रयोजनका लागि बोटलर्स नेपाल (तराई) पुस ८ र बालाजुले पुस ९ गतेदेखि शेयर दाखिल खारेजी गर्ने ( बुकक्लोज) मिति तोकेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन ।

तपाईको प्रतिक्रिया