सुधारत्मक लयमा देखिएको शेयर बजार पुन २ हजार अंक माथि उक्लिएको छ । आइतबारको बजारमा नेप्से परिसूचक ४६.४३ अंकले बढेर नेप्से २०१०.४५ अंकमा पुगेको हो । जुन पछिल्लो बिहीबारको तुलनामा २.३६ प्रतिशतले बढी हो ।

दिनभरको कारोबारमा करिब ५ अर्बको शेयर कारोबार भएको छ । बजारमा कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता सेयर ४ अर्ब ८९ करोड रुपैयाँ बराबरमा किनबेच भयो ।

यसदिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकैदिन ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आइतबार कारोबारमा आएका १२ समूहमध्ये तीन समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । अघिल्लो कारोबारको तुलनामा हाइड्रोपावर २८, ट्रेडिङ्ग २९ र होटल समूह ५ अंकले घटेका हुन् ।

महुली सामुदायिक, साधना लघुवित्त तथा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्किट लाग्ने गरी वृद्धि भएको छ । अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै ४.८४ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया