प्रभु बैंक लिमिटेडले पुस २६ गते उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले आफ्नो केन्द्रिय कार्यालयमा सो सभा आयोजना गर्नेछ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ को जोखिमका कारण सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएका कारण अन्य शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १० गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Online Arthik










