संसद विघटनको निर्णयपछि सेयर बजारका लगानीकर्ताको मनोबल गिरेको छ । लगानीकर्ता आत्तिंदा पेनिक सेल आएको हो । अन्तिम प्रहरमा बजार फर्किने प्रयास गरिरहेका बेला फेरि राष्ट्रपति कार्यालयबाट संसद विघटनको प्रस्ताव स्वीकार गरी मध्यवधि निर्वाचनको मिति घोषणा गरिएपछि सेयर बजार अझै बढी पेनिक देखिएको हो । सुरुमा प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा लगेको खबर आएसँगै बजार बेस्सरी तल झरेको थियो ।

तर कारोबारको पछिल्लो प्रहरमा बजार सुधारको क्रममा रहेको लागेको छ । फेरि एकाएक राष्ट्रपति कार्यालयबाट संसद विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेपछि पेनिक सेल थपिएको हो । तर यसरी बजारमा आएको सेयर सजिलै बिक्री भएको छ । सोही कारण कारोबार रकममा बेस्सरी तेजी आइरहेको छ । विशेषगरी नयाँ लगानीकर्ताहरु बढी आत्तिएका छन् ।

अनलाइनबाट आफैं सजिलै बिक्री गर्न पाइने भएकाले पनि उनीहरुले आत्तिएर बिक्री गर्दा बजार अझ बढी प्रभावित भएको अनुमान छ । यस्तो बेला लगानीकर्ताहरु आत्तिने भन्दा पनि विवेकपूर्ण निर्णय गर्न सक्ने हुनुपर्छ । केही दिन धैर्य गर्न सके बजार फेरि पुरानै लयमा फर्किने अनुभवी लगानीकर्ताहरुको भनाई छ । वित्तीय प्रणालीमा भएका अधिक तरलता र सस्तो ब्याजदरले बजारलाई तल झर्नबाट रोक्ने विश्लेषण गर्न सकिन्छ ।

बुलिस ट्रेन्डको बजारले यस्ता समस्याहरु पनि सजिलै पार गर्न सक्ने लगानीकर्ताहरुको विश्वास छ । किन भने कोरोना संक्रमणलाई पनि बुलिस बजारले जितिरहेको छ । विगतमा भूकम्प र नाकाबन्दीका बेला पनि बुलिस बजार अघि बढेको थियो । नेप्से सूचक ९६.८८ विन्दुले घटेर १९३५.६३ अंकमामा आइपुगेको छ । ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहको सूचक घटेका छन् । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स, पुनर्बिमा कम्पनी र एनआइसी एसिया बैंक क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया