नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। पुस ७ गते बसेको नेप्से संचालक समितिले प्रस्तावित लाभांश लगायतका एजेन्डा पारित गर्न पुस २९ गते साधारण सभा आह्वान समेत गरेको छ ।
नेप्सेको ३९ औं वार्षिक साधारण सभा २०७७ पुस २९ गते बुधबार, बिहान ११ बजे नेपाल स्टक एक्सचेञ्ज लिमिटेड यु.एन.आई. शान्तिमार्ग, काठमाडौंमा राखेको छ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने १० करोड बराबरको बोनस शेयर तथा ३० प्रतिशतका दरले हुन आउने १५ करोड नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृती प्रदान गर्नेछ ।
नेप्सेले वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । बोनसपछि नेप्सेको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतमा एजेण्डा पारित गर्नेछ ।

Online Arthik










