चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दालाई बिक्री गरेको प्राथमिक शेयर आज ( पुस १५ गते बुधबार) बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो ३ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेले मात्र आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंसिर १७ गतेदेखि निष्काशन खुला भएको कम्पनीको आईपीओमा बुधबार बेलुका ८ बजेसम्ममा ४ हजार ८१४ वटा आवेदबाट १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको १६ लाख ८५ हजार ५३० कित्ता शेयरको माग भएको छ ।

जसमध्ये आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ३ हजार ६९७ वटा आवेदन मार्फत १२ लाख ७९ हजार ६२० कित्ता र फारम मार्फत १ हजार ११७ आवेदन मार्फत ४ लाख ५ हजार ९१० कित्ताको माग परेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको हो । यस आधारमा हेर्दा कम्पनीको शेयरमा मागको तुलनामा ५.४९ गुणा बढीको माग परेको छ ।

तपाईको प्रतिक्रिया