दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जसमध्ये उन्नति सहकार्य र आरम्भ चौतारीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

दुबै लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुधबार बुकक्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

उन्नति सहकार्य लघुवित्तले गत आव २०७६।७७ को नाफाबाट शेयरधनीलाई १७.८१०३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । लाभांश पारित गर्न कम्पनीले चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजे छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

उन्नतिले बोनस शेयरपछि संस्थापक सर्वसाधारण शेयर स्वामित्व अनुपात मिलाउन १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

यस्तै आरम्भ चौतारी लघुवित्तले गत आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । लाभांश पारित गर्न कम्पनीले चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

तपाईको प्रतिक्रिया