
नेपाल मर्चेण्ट बैंकर एशोसियसनले ग्राहकहरुलाई अनलाईन मार्फत सेवा उपयोग गर्न आग्रह गरेको छ ।
एशोसियसनले ग्राहक तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी कोराना संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै सदस्य तथा ग्राहकहमा अनुरोध गरेको हो ।
अनलाइन कारोबारका क्रममा मेरोशेयर वा इडिआईएस सम्बन्धी केहि समस्या आईपरेमा कम्पनीको फोन नम्बर तथा वेबसाईटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिने एशोसिएसनले जनाएको छ । उसले शेयर खरीद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्न तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
यसैगरी शुक्रबार धितोपत्र बोर्डले जारी गरेको निर्देशन बमोजिम कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित गरी अत्यावश्याक सेवा मात्र प्रदान गर्ने गरी तीन जना मात्रै कमर्चारी कार्यालय राखेर न्यूनतम कमर्चारीमार्फत सेवा प्रवाह गर्न आफ्ना सदस्यहरूलाई निर्देशन दिएको छ । बाँकी सेवा अनलाइनमार्फत वर्कफ्रम होमबाट सञ्चालन गर्न भनेको छ ।