सोमबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुबै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७६/७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा डाकेको छ।

सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

त्यसैगरी, रिडी हाइड्रोपावरले कात्तिक १२ गते, शुक्रबार बिसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीबाट जुमको सहायताबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने बारे विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, हाल कायम चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रबन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन अथवा थप गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

तपाईको प्रतिक्रिया