गायक योगेश्वर अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेर १९ करोड रुपैयाँ ऋण निकालिएको दावी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले कुमारी बैंकका दुई जना कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ।
ब्युरोका प्रमुख धिरजप्रताप सिंहका अनुसार अमात्यको बारामा रहेको तीन बिघा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको स्थानीय शाखाबाट १९ करोड ऋण निकालिएको थियो। घटनाबारे चाल पाएपछि अमात्यले दिएको उजुरीका आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
पक्राउ पर्नेमा कुमारी बैंकका बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियासहित ऋण निकाल्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र कुसुम प्रधान रहेका छन्।
बैंकले ऋण असुली सकेपछि घटना बाहिर आएको बताइएको छ। सीआईबी प्रमुख सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
देश सञ्चार डट कमबाट साभार

Online Arthik










