प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १६.६३१३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि छलफलले अनुमोदन गर्नेछ।

सभामा गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया