नेपाल क्रेटिड एन्ड कमर्स (एनसीसी) बैंकले लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश छन्।

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड रुपैयाँ पुर्याउने र सेयरपुँजी तथा चुक्तापुँजी वृद्धि गरी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुर्याउने तथा सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

अन्य उपयुक्त देखिएका बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया