प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २६ करोड बढी नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ५१ करोड बढी नाफा आर्जन गरेको थियो । समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा प्रभू बैंकको १ अर्ब ८६ करोडभन्दा बढी रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा २ अर्ब १४ करोड रहेको थियो।

बैंकको खूद ब्याज आम्दानी अघिल्लो वर्षको भन्दा राम्रो रहे पनि ब्याज खर्च अत्यधिक हुँदा नाफामा उल्लेख्य प्रगति हुन नसकेको देखिन्छ । समीक्षा अवधिमा बैंकले ७ अर्ब ६६ करोड बढी ब्याज आम्दानी गरेकोमा ब्याज खर्च मात्रै करिब ५ अर्ब गरेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब ४७ करोड ब्याज आम्दानी गरी ३ अर्ब ७७ करोड मात्रै ब्याज खर्च गरेको थियो ।

अघिल्लो वर्ष १८ करोड ८२ लाख मात्र रहेको इम्पेयरमेन्ट चार्ज २१ करोड ३९ लाख पुगेको छ । यसले समेत नाफा घटाउन भूमिका खेलेको देखिन्छ ।

समीक्षा अवधिसम्ममा प्रभू बैंकले १ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

प्रभू बैंकले यो अवधिमा खराब कर्जाको अनुपातलाई उल्लेख्य मात्रामा घटाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.०६ को अनुपातमा रहेको खराब कर्जा घटेर १.२३ प्रतिशतमा सीमित बन्न पुगेको हो । कुनै बेला खराब कर्जाको थुप्रो लाग्ने प्रभू बैंकले विगत केही वर्षदेखि यसमा निकै चमात्कारिक सुधार गर्दै गएको समेत देखिन्छ ।

समीक्षा अवधिमा प्रभू बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.८६ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २६.७७ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ६.१६ प्रतिशत रहेको छ, अघिल्लो वर्ष ५.०१ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो निकै सुविधाजनक अवस्थामा अर्थात ८१.९० प्रतिशत मात्र रहेको छ भने बेस रेट ८.६८ प्रतिशत, पीई रेसियो १६.८७ गुणा, कुल सम्पत्तिमा प्रतिफल १.१५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४३.५४ रुपैयाँ र तरलता अनुपात २३.८८ प्रतिशत कायम भएको छ ।

तपाईको प्रतिक्रिया