महालक्ष्मी विकास बैंकले नाफा बढाएको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४५ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३१.५४ प्रतिशतले बढी हो ।

यस्तै, अघिल्लो वर्षको यही अवधिसम्म ४८ करोड १३ लाखमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष ६८ करोड ४ लाखको उचाईमा पुगेको हो ।

यसैगरी, अघिल्लो वर्ष ८४ करोड ८४ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर ८६ करोड २४ लाख पुगेको छ ।

अघिल्लो वर्ष १ अर्ब ५९ करोड रहेको बैंकको रिजर्बको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोड माथि पुगेको छ भने समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५० लाख रहेको छ ।

समीक्षा अवधिमा बैंकले ४० अर्ब ४७ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ७७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३८ अर्ब ६० करोड बढी निक्षेप संकलन गरी ३० अर्ब १० करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म २२.५८ रुपैयाँ वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) रहेकोमा बढेर समीक्षा अवधिमा २७.३० रुपैयाँ कायम भएको छ ।

बैंकले खराब कर्जाको अनुपात सु्धारमा समेत चमात्कारिक प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.७९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर समीक्षा अवधिसम्म २.८९ प्रतिशतमा सीमित बनाउन बैंक व्यवस्थापन सफल देखिएको छ ।

यो अवधिमा बैंकको सीडी रेसियो ८९.२३ प्रतिशत, बेस रेट ९.२० प्रतिशत, पीई रेसियो १९.६० गुणा, प्रतिसेयर नेटवर्थ १७८.४० रुपैयाँ, तरलता अनुपात २५.४१ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.७८ प्रतिशत कायम भएको छ ।

तपाईको प्रतिक्रिया