माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिसम्म बैंकले २५.९२ प्रतिशतले नाफा बढाउन सफल भएको छ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १५ करोड रुपैयाँ सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि बढेर २ अर्ब २४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ९८ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा बैंकले रिजर्भको आकार १४.१८ प्रतिशत बढाएर २ अर्ब ८६ करोड रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

बैंकले यो अवधिसम्म १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकले समीक्षा अवधिमा खराब कर्जा दर (एनपीएल) घटाएर ०.५७ प्रतिशतमा सीमित गरेको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.७६ प्रतिशत रहेको थियो। सीडी रेसियो ८८.२१ प्रतिशत रहेको बैंकको आधार दर ८.७९ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढे १९.७१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १५.६५ रुपैयाँ रहेको थियो।

पीई रेसियो १६.८४ गुणा रहेको प्रतिसेयर नेटवर्थ १३४.५ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया