कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २०५.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो मुनाफा ९५ लाख ७५ हजार रुपैयाँमा सीमित थियो।

संस्थाले यो अवधिमा १५ करोड १६ लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड १३ लाख रुपैयाँ रहेको थियो। संस्थाले समीक्षा अवधिमा यो आम्दानी पनि १६.३७ प्रतिशतले बढाउन सफल भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १ अर्ब ५८ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २७ करोड ६८ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार २६.५९ प्रतिशत बढाउँदै २२ करोड ७ लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १७ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

संस्थाले खराब कर्जा (एनपीएल) मा सुधार गरेको छ। गत वर्ष यही अवधिमा ४.६६ प्रतिशत रहेको एनपीएल अहिले घटेर ३.८७ प्रतिशतमा झरेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६०.७४  रुपैयाँ रहेको छ। पीई रेसियो २१.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७९.७२ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया