नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ। माघ १८ गते मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले जारी गरेको एक सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाएको हो । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ रुपैयाँको उचाईमा पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि प्रतिलिटर रु. १० ले बढाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु. ११६ पुगेको छ ।

निगमले यो पटक खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमले स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाउने गरेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखम इण्डिया आयल कर्पोरेसन(आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि पठाउने गर्छ । त्यही आधारमा आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । निगमलाई पछिल्लो पटक आएको मूल्यसूची बढेर आएपछि त्यसकै आधारमा मूल्य समायोजन गरिएको हो ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर ८२ रुपैयाँले घटेर आएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूचिपछि १५ दिनको जम्मा घाटा करिब २ अर्ब ६० करोडबाट ३७ करोडले घट्नेछ ।

तर पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको छ ।

मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा छ ।

तपाईको प्रतिक्रिया