नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयरमूल्य समायोजन गर्दै नेशनल लाइफको प्रतिकित्ता ८५७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १०२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत फागुन १८ गते (फागुन १९ गते सार्वजनिक बिदा, फागुन २० गते शुक्रबार र फागुन २१ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य भएका छन्।

कम्पनीले यही फागुन २९ गते ३३ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत आयोजना गर्ने निर्णय गरेको छ।

सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।

यस्तै सभामा प्रस्तावित बोनस सेयर कार्यान्वयन गर्न एवंम भविष्यमा सम्भावित पूँजी सम्बन्धी आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा(८)र नियमावली को नियम(४)मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिने उल्लेख छ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सम्न्धित निकायबाट फेरबद गर्न सुुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अत्यिारी प्रदान गनै प्रस्ताव पारित गरिनेछ।

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ।

तपाईको प्रतिक्रिया