प्लास्ट नेपाल फाउन्डेसनले यही जेठ १२ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल–२०२२’ नामक प्लास्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ।  यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ। पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी र करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ।

जेठ १४ गतेसम्म हुने प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थ र मेसिन उपकरणसमेतका विभिन्न १२६ वटा स्टल राखिनेछन्।

प्लास्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ।

प्लास्ट नेपाल नेपाली प्लास्टिक उद्यमीहरुको छाता संगठन हो। ‘हामीले नेपालमा प्लास्टिकको दिगो वृद्घिका लागि निरन्तर काम गरिरहेका छौँ। नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि प्लास्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ’, तातेडले भने।

नेपालमा प्लास्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तुहरु उपलब्ध गराउन मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया