दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो। भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो।
कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) चिरायु भण्डारी पनि बिदा भएका छन्। भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन्।
कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन्। अत्यन्तै भावुक बिदाइ समारोहमा कतिपय कर्मचारीले आँसुसमेत झारेका थिए। अभिभावकले जस्तै माया, हौसला र प्रेरणा दिने भट्टराईको स्वभावका कारण उनलाई बिदा गर्नुपर्दा ज्यादै नरमाइलो लागेको कर्मचारीहरुको भनाइ थियो।
भट्टराईलाई कर्मचारीहरु कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन्। उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरुको भनाइ छ।

Online Arthik










