
रुपन्देहीको रोहिणी गाउँपालिका–३ सेमरहवास्थित श्री स्टिलद्वारा उत्पादित छड बेलहिया नाकाहुँदै भैरहवा भन्सार कार्यालयबाट पहिलोपटक भारततर्फ छड निकासी भएको छ। सिमेन्टपछि पहिलोपटक नेपालबाट भारततर्फ छड निकासी भएको हो।
भारत निकासी भएको हो। यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो।
उद्योगले ब्युरो अफ इन्डियन स्ट्यान्डर्डबाट बीएसआई प्रमाणपत्र पाएपछि पहिलोपटक छड निकासी गरेको हो। कम्पनीले भारतको नौतनवास्थित एक फर्मलाई एक ट्रक छड पठाएको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ता चप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था छ। उद्योगका अनुसार यसअघि कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन। सरकारले गरेको उक्त व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको कम्पनीको भनाइ छ।
भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ। ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ।
श्री स्टिल्सले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टीएमटी छड उत्पादन गर्दै आएको छ। उद्योगले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ। जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ।
प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८०० टन स्टिल र बिलेट उत्पादन गर्दै आएको छ।