बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक बर्ष २०७७÷७८ (२०२०÷२१) मा प्रकाशित बार्षिक प्रतिबेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ वढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाची जिल्लाका करीव ६०००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्डी बेसिन स्थित करीव ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरुमा समेत लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया