नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि आवेदन खुला गरेको छ।

सरकारले  हालै धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन स्वीकृत गरेको थियो। योसँगै सेबोनले आज एक सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणका आवेदन खुला गरेको हो। यसका साथै सेबोनले कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको छ। त्यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितापत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अबको ४५ दिन भित्र आवेदन दिनु पर्नेछ।

बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो।

 

तपाईको प्रतिक्रिया