हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्। सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई नगद प्रतिफलमात्रै दिने घोषणा गरेका छन्।

विगतका वर्षहरुमा बोनस सेयर र नगद लाभांश दुवै वितरण गर्दै आएका बैंकहरुले यस वर्ष नगदलाई प्राथमिकता दिएका छन्।

सिटिजन्स बैंकले चुक्तापुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश अनुमोदन गर्न बैंकले आगामी कात्तिक ४ गते १६ औँ वार्षिक साधारणसभा डोकेको छ।

सभाले नगद लाभांश पारित गरेपश्ताच सेयरधनीलाई तिहारअगावै लाभांश बाँड्ने सिजिटन्स बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए। बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ। हाल बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ।

उता कुमारी बैंक र निफ्राले तिहारअघि नै नगद लाभांश बाँड्ने सम्भावना न्यून छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी रहेकाले यी दुई बैंकले तिहारअघि लाभांश वितरण गर्ने सम्भावना न्यून रहेको हो।

 

तपाईको प्रतिक्रिया