आज मंगलबार प्रिअलमेन्टको काम सकाएर शुक्रबार भित्रै कम्पनीको शेयर बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।
कम्पनीले शुक्रबार देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।