राष्ट्र बैंकले बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाका आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका कुल ३ हजार ३ शाखा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ।

बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च रहेको छ। ‘वाणिज्य बैंकका १ हजार ८०७, विकास बैंकका ३२१, वित्त कम्पनीका १०६ र लघुवित्त वित्तीय संस्थाका ७६९ शाखा छन्’, प्रतिवेदनमा भनिएको छ, ‘यसमध्ये काठमाण्डौ जिल्लामा सबैभन्दा बढी १ हजार १७२ तथा रसुवा जिल्लामा सबैभन्दा कम ४९ शाखा सञ्चालनमा रहेका छन्।’

२०७४ को मौद्रिक नीतिमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्नुपर्ने व्यवस्थापश्चात बागमती प्रदेशका सबै ११९ स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको छ। बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा ९.४ प्रतिशतले वृद्धि भई २०७९ असार मसान्तमा ३५ खर्ब ९ अर्ब ९४ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९.२८ प्रतिशतले वृद्धि भएको थियो।

२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ११.४ प्रतिशतले वृद्धि भई २६ खर्ब २१ अर्व १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २८.५ प्रतिशतले वृद्धि भएको थियो। २०७९ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७४.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ७३.३ प्रतिशत रहेको थियो।

 

तपाईको प्रतिक्रिया