
एमडिएमएस प्रणाली दर्ता नगरिएका मोबाइल चलाउन नपाइने नियम लाई तत्काल लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन प्रधानमन्त्री निर्देशन दिनु भएको छ ।
विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै सोसलमिडियामा पछिल्लो २४ घण्टायता ‘नो रेमिट्यान्स’ अभियान चलिरहेको छ । सरकारले विदेशबाट फर्किने नेपालीहरुले ल्याउने मोबाइलमा १८ प्रतिशत कर लगाएपछि सो अभियान सुरु भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी दोस्रो मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ ।
एजेन्सी