
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का बीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ ।
आज काठमाडौंमा एक कार्यक्रममा सम्पन्न सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १०० : ८० कायम रहनेछ ।
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी रु.२,६२,२६,३८,१९५।– कायम रहनेछ ।