सिनर्जी पावर डेभलपमेन्ट कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ।
सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। यो स्वीकृतिसँगै कम्पनीले चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। प्रस्तावित संशोधनमा नियामक निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा थपघट गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
कम्पनीले गत कात्तिक २७ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको छ। आयोगको गत माघ १२ गते बसेको बैठकले सिनर्जी पावरलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।
सिनर्जी पावर दोलखा जिल्लामा निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










