
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने र स्थानीयका लागि भने फागुन १५ गतेसम्म आवेदन दिन म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको छ।
यसैगरी कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गरेको छ। यसमा आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।