सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको बताए।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात बैंकको अधिकृत पुँजी रु. २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब, कुल पुँजी रु. ३४ अर्ब र कुल सम्पत्ति रु. ३३४ अर्ब रहनेछ भने बैंकको कुल निक्षेप रु. २७४ अर्ब र कुल कर्जा रु. २५० अर्ब रहने छ।

यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपालभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम बुथबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नेछ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य बातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए।

त्यसैगरी सिभिल बैंकका अध्यक्ष प्रदीपजंग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए।

समारोहमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अब हिमालयन बैंक देश के एउटा उत्कृष्ट सबल तथा ठूलो संस्था बनेको बताए। उनले आगामी दिनमा बैंक आफ्ना सेयरधनीलाई उच्चतम प्रतिफल दिन र ग्राहकलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवासुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्ज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद ज्ञापन गरे।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नै रहेनछन्।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा रहनेछन्।

प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमै रहेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो।

 

तपाईको प्रतिक्रिया