
काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आइतबार सम्पन्न अपी पावर कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
यसका साथै सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्तावसमेत अनुमोदन गरेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्वस्वीकृत प्राप्त गरिसकेको छ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८–७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ। सभामा लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८–७९ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका अनुसूचीहरुउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण समितिको सिफारिसबमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।