एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सञ्चालक समितिको बिहीबार (फागुन २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्।
सभाले बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि भएर १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले कम्पनीको अधिकृत पुँजी १.५ अर्बबाट वृद्धि गरी ३ अर्ब रुपैयाँ विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति सभाले स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १२ गतेसक्क कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










